सर्लाही - सर्लाहीको रामनगर गाउँपालिका–२ इनर्वास्थित धान खेतमा एक ४ वर्षीय बालकको शव फेला परेको छ। रामनगर गाउँपालिका–२ इनर्वाका रामध्यान रायका ४ वर्षीय छोरा तेजस्वी यादवको शव धान खेतमा सोमबार फेला परेको हो।
घरबाट हराएका बालकको शव खेतमा भेटियो
बालक आइतबार साँझ साढे सात बजे घरबाट हराएका थिए। परिवारजनले अबेर रातिसम्म खोजी गरे पनि बालकलाई भेट्न सकेका थिएनन्। अन्ततः बालकको शव सोमबार बिहान मात्र घरबाट ५ सय मिटर टाढा रहेको धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले जानकारी दिए।
शव पोष्टमार्टमको लागि मलंगवा अस्पतालमा
बालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको छ। घटनाको प्रकृति शंकास्पद देखिएको हुँदा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बालकको मृत्युको कारण पत्ता लगाउन प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।