भारत - गुजरातको साबरकाँठा जिल्लामा आज बिहान एक भीषण सडक दुर्घटना भएको छ। एक कार पछाडिबाट ट्रकमा ठोक्किँदा कारमा सवार ७ जनाको मृत्यु भएको छ भने एक व्यक्ति गम्भीर घाइते भएका छन्।
घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ। दुर्घटनामा परेका सबैजना एउटै परिवारका सदस्य हुन्, जो श्यामला जी मन्दिरको दर्शन गरेर आफ्नो सहर अहमदाबाद फर्किरहेका थिए।
दुर्घटना बिहान ६ बजे हिम्मतनगरमा
यो दुर्घटना हिम्मतनगरमा बुधबार बिहान करिब ६ बजे भएको हो। घटनापछि प्रहरीले शवहरूलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको छ। साथै, प्रहरीले दुर्घटनाको विषयमा केस दर्ता गरी अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार, कारको तीव्र गतिका कारण र चालकलाई निद्रा लागेर यो दुर्घटना भएको बताइएको छ। निन्द्राको कारण अगाडि चलिरहेको ट्रक देखिएन र कार सोझै ट्रकमा ठोक्किएको थियो।
कारको तीव्र गति दुर्घटनाको कारण
साबरकाँठाका एसपी विजय पटेलका अनुसार, ट्रकमा पछाडिबाट ठोक्किँदा कारको अगाडिको भाग नराम्रो तरिकाले कुच्चिएको थियो। शवहरूलाई निकाल्न कटरको प्रयोग गर्नु परेको थियो। कारको गति १०० किलोमिटर प्रतिघण्टाभन्दा बढी भएको अनुमान गरिएको छ, जसका कारण यति ठुलो ठक्कर लागेको हो। घटनाको जानकारी राहगीरहरूले प्रहरीलाई दिएका थिए। साबरकाँठा थाना प्रहरी टोलीले घटनास्थलमा पुगेर परिस्थितिलाई नियन्त्रणमा लिएको छ।