शुक्रबार बिहानैदेखि देशका अधिकांश भूभागमा पानी परिरहेको छ, जसका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार वर्षाका कारण जनकपुर, सिमरा, पोखरा, धनगढी लगायतका विमानस्थलहरूमा त्रिभुवन विमानस्थलबाट उडान हुन सकेको छैन। कमजोर भिजिबिलिटी मुख्य कारण बनेको छ।
भिजिबिलिटीको कारण उडानमा अवरोध
प्रवक्ता शेर्पाले त्रिभुवन विमानस्थलको भिजिबिलिटी हाल तीन हजार रहेको जानकारी दिएका छन्। बाहिरका विमानस्थलहरूको भिजिबिलिटी कमजोर हुँदा उडानहरू प्रभावित भएका हुन्। काठमाडौं विमानस्थलमा भने भिजिबिलिटी १६ सय भए पनि जहाजले उडान र अवतरण गर्न सक्छ। सामान्य वर्षाले उडान प्रभावित नगर्ने भए पनि अत्यधिक पानी परेर भिजिबिलिटी निकै कमजोर हुँदा उडान प्रभावित हुने प्रवक्ताले बताए।
अन्तर्राष्ट्रिय उडान सामान्य
अन्तर्राष्ट्रिय उडान र अवतरण भने त्रिभुवन विमानस्थलमा नियमित रूपमा भइरहेको छ।