बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि देशभर मनसुन सक्रिय भएको छ। मौसमविद्हरूका अनुसार यो क्रम आइतबारसम्म जारी रहनेछ। पछिल्लो २४ घन्टामा कोशी प्रदेश र मधेसका केही भूभागमा भारी वर्षा भएको छ।
पछिल्लो २४ घन्टामा भारी वर्षा भएका स्थानहरू
जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा झापाको केचनामा १७७.२ मिलिमिटर वर्षा भएको छ, जसलाई धेरै भारी वर्षा मानिन्छ। झापाको गौरादहमा १५५.४, सप्तरीको बरमझियामा १६७.२, उदयपुरको सुन्दरपुरमा १४५.६, इलामको मैनाचुलीमा १३४.८ र सप्तरीको रुपनी बजारमा १३२.२ मिलिमिटर वर्षा भएको छ।
आगामी दिनहरूको मौसम पूर्वानुमान
मौसमविद्हरूले भनेका छन् - शनिबार रातिबाट मात्रै वर्षा कम हुने सम्भावना छ। आज देशभरका अधिकांश भूभागमा भारी वर्षा हुने सम्भावना रहेको छ। आज र भोलि रात्री बस नचलाउन अनुरोध गरिएको छ।