चितवन — चितवनको पुल्चोकबाट यात्रु बोकेर काठमाडौं छुटेको माइक्रोबस पनि सम्पर्कविहीन भएको छ। सो माइक्रोबस झ्याप्ले खोलाको पहिरोमा पुरिएको आशंका गरिएको छ।
माइक्रोबसको विवरण
असोज ११ गते शुक्रबार दिउसो करिब २ बजे मनकामना माई यातायात प्रा.लि. मार्फत सञ्चालित बा २ ख १३४५ नम्बरको माइक्रोबस सम्पर्कविहीन भएको प्रालिका अध्यक्ष नर बहादुर रानाले जानकारी दिएका छन्। काउन्टरबाट चलानी नबनाई बाहिरबाटै यात्रु चढाएर माइक्रोबस काठमाडौंका लागि छुटेको र प्रत्यक्षदर्शीहरुका अनुसार माइक्रोबसमा चालक सहचालकसहित १७ जना रहेको बुझिएको छ।
यात्री र चालकको अवस्थाबारे जानकारी
रानाले थप जानकारी दिंदै भने, “शुक्रबार चितवनबाट काठमाडौंका लागि छुटेको माइक्रोबस पनि भेटिएको छैन, चालक र सहचालक पनि सम्पर्कमा छैनन्।” सम्पर्कमा नआएका यात्रुका आफन्तहरुले पनि फोन गरिरहेका छन्, पहिरो झरेको ठाउँमा नै पुरिएको आशंकामा उनीहरु सो क्षेत्रतर्फ जाँदैछन्।
उद्धार कार्यमा चुनौती
टिकट काउन्टरबाट चलानी नबनाई हिँडेकोले सम्पर्कमा नरहेका यात्रुको संख्या यकिन गर्न नसकिएको व्यवसायीहरुले बताएका छन्। प्रहरीले भने पहिरो निकै ठूलो भएको र उद्धारको क्रममा शवहरु एक पछि अर्को भेटिरहेकोले पहिरोमा कति सवारी पुरिएका छन् र कति यात्रु रहेका छन् भन्ने आकलन गर्न सकेको छैन। शनिबार राती एक बालक, पाँच महिला र आठ पुरुषको शव निकालेको उद्धार टोलीले आइतबार बिहान थप तीन जनाको शव निकालेको छ।