काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा सवारीसाधन पहिरोमा पुरिँदा हालसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ। सशस्त्र प्रहरी बल, नेपालका अनुसार पहिरोमा एउटा बस र दुइटा माइक्रोबस पुरिएका छन्।
चितवनबाट आएको माइक्रोबस
चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रोबस आइतबार बिहान पुरिएको अवस्थामा भेटिएको हो। उक्त माइक्रोबसबाट ७ जनाको शव निकालिएको छ, जसमा २ महिला र ५ पुरुष रहेका छन्।
गोरखाबाट आएको बस
गोरखाबाट काठमाडौंतर्फ आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको छ। उक्त बसबाट ३ जना पुरुषको शव निकालिएको छ।
बुटवलबाट आएको माइक्रोबस
बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पहिरोमा पुरिँदा १४ जनाको मृत्यु भएको छ। सो माइक्रोबसबाट आठ पुरुष, पाँच महिला, र एक बालकको शव निकालिएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।
उद्धार कार्य जारी
सशस्त्र प्रहरी बलका सह-प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार पहिरोमा पुरिएका अन्य सवारी साधनहरूको खोजी कार्य जारी छ।