काठमाडौँ — धादिङमा बाढीपहिरोका कारण अलपत्र परेका यात्रुहरूलाई नागढुंगा–सिस्नेखोला सुरुङमार्गको माध्यमबाट काठमाडौं ल्याउन थालिएको छ। नागढुंगा-मुग्लिन सडकखण्डको विभिन्न स्थानमा पहिरो खसेर यातायात ठप्प भएपछि यात्री उद्दारका लागि सुरुङमार्ग प्रयोग गरिएको हो।
स्थानीय निकायको सक्रियता
सडक विभाग र चन्द्रागिरि नगरपालिकाको पहलमा यात्रुलाई उद्दार गर्न नगरपालिकाले उपलब्ध गराएको बसमार्फत सुरुङमार्ग हुँदै काठमाडौं ल्याइने व्यवस्था गरिएको छ। शनिबार पहिरोमा अलपत्र परेका यात्रुलाई पनि सुरुङमार्ग आयोजनासँग समन्वय गरी उद्धार गरिएको थियो।
एक हजार यात्रुको उद्दार
शनिबार करिब एक हजार यात्रुको उद्दार गरिएको सुरुङमार्ग आयोजनाले जनाएको छ। साथै, आइतबार बिहान दुध बोकेको ट्याक्टरलाई पनि सुरुङमार्गबाट काठमाडौं आउन दिइएको थियो। कुखुरा बोकेका करिब दर्जन गाडीलाई पनि सुरुङमार्गबाटै सुरक्षित काठमाडौं ल्याइएको थियो।
सडक विभागको सहजीकरण
सडक विभागका महानिर्देशक रामहरि पोखरेलका अनुसार पहिरोले बीचसडकमै रोकिएका यात्रुलाई निर्माणाधीन सुरुङमार्गको प्रयोग गरेर काठमाडौं ल्याउन सहजीकरण गरिएको हो।