काठमाडौँ — काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा फिकल कोलिफर्मको उपस्थिति पाइएको भन्दै ती पानीको विक्री र वितरणमा रोक लगाएको छ। महानगरपालिकाले यससम्बन्धी गरेको परिपत्रमा, विक्रीमा रोक लगाइएका हरेकलाई २ लाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको जनाएको छ। यसका साथै, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ।
फिकल कोलिफर्मको नमुना परीक्षण प्रक्रिया
भदौ १२ गतेदेखि २८ गतेका बीचका विभिन्न दिनमा विभिन्न स्थानहरूबाट २० वटा पानीको नमुना लिइएको थियो। यसबाहेक, उपभोक्ताले गुनासो गरेपछि एउटाको नमुना सङ्कलन गरेर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। यसरी पठाइएका २१ वटा नमुनामध्ये ११ वटामा फिकल कोलिफर्म भेटिएको हो। प्रति १०० मिलिलिटर नमुना परीक्षणमा कोलोनी फर्मिङ् युनिट (सिएफयु) मापदण्ड विपरीत देखिएको हो। कोलोनी फर्मिङ् युनिट (सिएफयु) सूक्ष्मजीवको अवस्था हेर्न प्रयोग गरिने युनिट हो।
खाद्य पदार्थको गुणस्तर मापदण्ड
खाद्य पदार्थको अनिवार्य गुणस्तर मापदण्डअनुसार, प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ। फिकल कोलिफर्म दिशामा पाइन्छ। दिशामा पाइने सूक्ष्मजीव पानीमा भेटिनुलाई पिउन अयोग्य मानिन्छ।
जरिवाना र प्रभावित ब्रान्डहरूको विवरण
जरिवाना र विक्रीमा रोक लगाइएका पानीका ब्रान्डहरूमा ब्याच नं. १३ को फ्रेस ड्रप पानीमा २३ कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ। उपभोक्ताबाट गुनासो आएपछि भदौ १८ गते यसको नमुना लिइएको थियो। पञ्चरत्न ग्रुपले उत्पादन गर्ने यो पानी टोखा नगरपालिका वडा नं. ८ बाट उत्पादन भइरहेको छ।
भदौ १२ गते नमुना लिइएका पानीमध्ये ब्याच नं. १२ को अक्वा पिसमा ८० र अक्वा टोखाको पानीमा ३० कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ। अक्वा पिस टोखा ८ मा रहेको पिस स्प्रिङ् वाटरले उत्पादन गरेको पानी हो भने अक्वा टोखा, टोखाकै अक्वा एस. एन. एस. वेभरेजले उत्पादन गरेको पानी हो।
ब्याच नं. ६ को कोलभोतेश्वर ब्रान्डको भदौ २४ गते नमुना लिइएको थियो। यसमा फिकल कोलिफर्मको मान ११६ कोलोनी फर्मिङ् युनिट (सिएफयु) छ। यो पानी कागेश्वरी मनोहरामा सञ्चालित उत्तरवाहिनी फुड एण्ड वेभरेजले उत्पादन गरेको हो।
भदौ २४ गते नै नमुना लिइएका पानीहरूमा गोकर्णेश्वरमा सञ्चालित अक्वा सुन्दरी उद्योगले उत्पादन गर्ने अक्वा डिवी, कागेश्वरी मनोहरा, वडा नं. ६ मा रहेको स्नो क्युव ड्रिङ्किङ् वाटरले उत्पादन गर्ने अक्वा, गोकर्णेश्वरमा रहेको स्तुपा इष्डष्ट्रीले उत्पादन गरेको क्युब प्रोसेस ड्रिङ्किङ् वाटर र गोकर्णेश्वरमा सञ्चालित मुन लाइट स्प्रिङ् मिनरल वाटरले उत्पादन गरेको अक्वा माइल्ड नामको पिउने पानीमा फिकल कोलिफर्म भेटिएको छ।
अक्वा डिवीमा ५, अक्वामा १७, ब्याच नं. २०० को क्युव प्रोसेस ड्रिङ्किङ् वाटरमा ३ सयभन्दा धेरै र ब्याच नं. ४२ को अक्वा माइल्ड ब्राण्डको पानीमा २१ कोलोनी फर्मिङ् युनिट (सिएफयु) भेटिएको छ।
भदौ २८ गते सङ्कलन गरिएका नमुनामध्ये अक्वा कपन र अक्वा गौरशंकरमा कोलिफर्म भेटियो। अक्वा कपनमा फिकल कोलिफर्म मान ४ र अक्वा गौरशंकरमा ३ सयभन्दा धेरै कोलोनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ।
अक्वा कपन एम. के. मिनरल वाटर उद्योगले वुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट उत्पादन गर्छ। अक्वा गौरशंकर, गोकर्णेश्वरमा रहेको कोशी मिनरल उद्योगले उत्पादन गर्ने गरेको महानगरपालिकाले जनाएको छ।
पानीको विक्री वितरणमा रोक
महानगरपालिकाले उपभोक्तालाई सचेत गराउँदै, पानीको विक्री र वितरणमा रोक लगाइएकाले, फिकल कोलिफर्म देखिएको पानीको नमुना सरकारी प्रयोगशालामा प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। यदि प्रतिवेदनमा फिकल कोलिफर्म शून्य देखिएमा मात्र विक्री वितरण गर्नका लागि अनुमति दिइनेछ। महानगरपालिकाले यस विषयमा थप निगरानी र अनुगमन गर्ने आश्वासन दिएको छ।