काभ्रेपलाञ्चोकमा बाढी र पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत बीपी राजमार्गको रोशी क्षेत्रमा अलपत्र परेका व्यक्तिहरूको उद्धार भइरहेको छ। साथै, भुम्लु गाउँपालिका र चौरी देउराली गाउँपालिकामा घाइते भएका दुई व्यक्तिको उद्धार गरी धुलिखेल पुर्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिएका छन्।
पहिलो प्राथमिकता: अलपत्र र घाइतेको उद्धार
जिल्लामा विपद् व्यवस्थापनको सम्पूर्ण संयन्त्र परिचालन भइसकेको छ। उद्धार कार्यलाई पहिलो प्राथमिकता दिइएको छ, विशेषगरी बाढी र पहिरोमा परेर घाइते भएका तथा अलपत्र परेकाहरूको उद्धारमा केन्द्रित गरिएको छ।
तेमाल गाउँपालिकामा ठुलो क्षति
तेमाल गाउँपालिकामा पहिरोका कारण ठूलो क्षति भएको जानकारी आएको छ। गाउँपालिका अध्यक्ष चन्द्रबहादुर लामाका अनुसार, दूरसञ्चार सेवा अवरुद्ध भएकाले थप विवरण आउन कठिनाइ भएको छ। हालसम्मको जानकारीअनुसार, पहिरोले घर पुरिँदा १२ जना बेपत्ता भएका छन्, जसमध्ये चार जनाको शव निकालिएको छ भने तीन जनाको उद्धार गरी धुलिखेलमा उपचारका लागि पठाइएको छ।
दूरसञ्चार र विद्युत् सेवा अवरुद्ध
बाढी–पहिरो प्रभावित क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध भएकोले सम्पर्कमा रहेका व्यक्तिहरूको विवरण संकलनमा कठिनाइ भएको छ। अझै केही व्यक्तिहरू सम्पर्कविहीन अवस्थामा छन्। पहिराले घर पुरिएकोले दुई दिनदेखि उद्धार कार्य गर्न सकिएको छैन।