काठमाडौं - के-पप ब्याण्ड बीटीएसका सदस्य सुगालाई मादक पदार्थ सेवन गरेर इलेक्ट्रिक स्कुटर चलाएको आरोपमा १५ मिलियन युआन (११ हजार ५०० अमेरिकी डलर) जरिवाना गरिएको छ। बीबीसीको रिपोर्ट अनुसार, सुगाले मादक पदार्थ सेवन गरेर सियोलस्थित घर नजिक स्कुटर चलाएका थिए।
मादक पदार्थ सेवनपछि दुर्घटना
मिन युन-गी (सुगाको वास्तविक नाम)लाई सियोलमा स्कुटर दुर्घटनामा परेर लडेपछि मातेको अवस्थामा पाइएको थियो। स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार, ३१ वर्षीय गायकको रगतमा अल्कोहलको मात्रा ०.२७७ प्रतिशत पाइएको थियो, जुन कानूनी सीमा ०.०८० प्रतिशतभन्दा धेरै बढी हो। गत शुक्रबार सियोलको अदालतले उनलाई यो घटनाको दोषी ठहर गर्दै जरिवानाको सजाय सुनायो।
सैन्य सेवा र कानूनी कारबाही
हाल सामाजिक सेवा एजेन्टको रूपमा अनिवार्य सैन्य कर्तव्य निभाइरहेका सुगाको ड्राइभिङ लाइसेन्स यसअघि नै खारेज भइसकेको थियो। दक्षिण कोरियाली सडक ट्राफिक ऐनअनुसार, ०.२ प्रतिशतभन्दा बढी रगतमा अल्कोहलको मात्रा लिएर गाडी चलाउँदा पाँच वर्षसम्मको जेल सजाय वा २० मिलियन वोनसम्म जरिवाना हुन सक्छ।
सियोलको सैन्य जनशक्ति प्रशासनले सुगालाई सैन्य कानुन अन्तर्गत नभई ट्राफिक कानुन अनुसार कारबाही गरिने बताएको छ, किनभने यो घटना उनले आधिकारिक समयबाहिर गरेका थिए।
माफी माग्दै सुगाको वक्तव्य
अगस्टको अन्त्यतिर, सुगाले हस्तलिखित माफीनामा जारी गर्दै आफूले बीटीएसको नामलाई कलंकित गरेको बताएका थिए। उनले भनेका थिए, "मैले मेरा सदस्यहरू र हाम्रा प्रशंसकहरूका साथमा बनाएका बहुमूल्य सम्झनामा ठूलो दाग पोतेको छु। मैले बीटीएसको नाम कलंकित गरेको छु।"
बीटीएस र अनिवार्य सैन्य सेवा
विश्वकै लोकप्रिय युवक ब्याण्ड बीटीएसका सात सदस्यहरू सन् २०२२ देखि अनिवार्य सैन्य सेवामा रहेका छन्।