काठमाडौं - असोज १२ गते ललितपुर जिल्लामा आएको बाढी–पहिरोमा परी मृत्यु हुनेको संख्या ४० पुगेको छ। आज बिहान थप ६ जनाको शव फेला परेपछि मृतकको संख्या बढेको हो। मृत्यु हुनेहरूमा एकै परिवारका चार सदस्यसमेत रहेका छन्।
एकै परिवारका चार सदस्यको मृत्यु
ललितपुरको माहाँकाल गाउँपालिका–२ ठोस्ने खोलामा ४० वर्षीया राममाया स्याङ्तान, उनका छोरा १४ वर्षीय अजय, ११ वर्षीय सुवास, र ९ वर्षीया छोरी सलिनाको मृत्यु भएको ललितपुर प्रहरीले पुष्टि गरेको छ।
अन्य पीडितहरू
माहांकाल गाउँपालिका वडा नम्बर २ लक्ष्यबासका ९ वर्षीय आयुष स्याङ्तानको पनि बाढीमा परी ज्यान गएको छ। यसैगरी, माहाँकाल गाउँपालिका वडा नम्बर ३ गोटीखेलका ईश्वर तिमल्सिनाको शव पनि फेला परेको छ। उनी असोज १२ गतेदेखि बेपत्ता थिए, जबकि उनका आमा र श्रीमती अझै सम्पर्कविहीन छन्।
बेपत्ताको संख्या १० पुग्यो
ललितपुर प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म १० जना अझै सम्पर्कविहीन छन्। यसअघि ७ जनामात्र बेपत्ता भनिए पनि थप ३ जनाको नाम सूचीमा थपिएपछि संख्या १० पुगेको हो। बेपत्ताहरूमा ललितपुरका १२ वर्षीया सन्जिता स्याङ्तान, ३५ वर्षीय छविलाल स्याङ्तान, र छविलालकी भाउजू छन्।
अन्य बेपत्ता व्यक्ति
बेपत्ता हुनेहरूमा रौतहट र ओखलढुंगाका व्यक्तिहरू पनि छन्। रौतहटको गौर नगरपालिका ६ का पाँच वर्षीय सेतु साह, ३२ वर्षीय बिकाउ साह, ओखलढुंगाका ४० वर्षीय देवराज कार्की, र गोदावरी नगरपालिका ६ आनन्दवन अस्पतालका ३० वर्षीय विवेक सिंह पनि बेपत्ता भएका छन्। बागमती गाउँपालिका १ घुसेलका ५० वर्षीय केशव न्यौपाने पनि बेपत्ताको सूचीमा छन्।
घाइतेहरूको अवस्था
बाढीपहिरोमा परी तीन जना घाइते भएका छन्। घाइतेहरूमा रौतहटकी ६ वर्षीया मेघना साह, गोदावरी नगरपालिका ७ की ३४ वर्षीया ठुलीमाया रुम्बा, र ललितपुरको बागमती गाउँपालिका ४ का ४५ वर्षीय भूषण अर्याल छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।