काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले हालैका विपद् व्यवस्थापनमा देखिएको कमीकमजोरी स्वीकार गर्दै आगामी दिनमा सुधारको प्रतिबद्धता व्यक्त गरेका छन्।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले विपद्को सामना गर्न सरकारको तयारी अपेक्षाभन्दा कम भएको स्वीकार गर्दै जनताको पीडालाई साझा राष्ट्रिय पीडा मान्न आग्रह गरे। प्रधानमन्त्रीले खोज, उद्धार, राहत, र पुनःस्थापनामा राज्य र समाजका सबै स्रोतहरूको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिए।
संरचनागत सुधारको प्रतिबद्धता
ओलीले हालका क्षतिहरूलाई संरचनागत त्रुटीहरूको परिणाम भनेका छन्। भविष्यमा विपद्को सामना गर्न सक्षम दीर्घकालीन संरचना निर्माण गरिने बताउँदै उनले संरचना निर्माणको क्रममा सावधानी अपनाइने प्रतिबद्धता जनाए। उद्धार र राहत कार्यमा कमजोरी भए पनि सुधारको प्रयास जारी रहने उनको भनाइ थियो।
धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिमा उठेका प्रश्न
धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिमा उठेका अनियमितताबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा सुरु भएको नियुक्ति प्रक्रियामा हस्तक्षेप नगरेको बताए। उनले आफूले कुनै व्यक्तिगत लाभ लिन नचाहेको र प्रक्रियागत अनियमितता रोक्न मात्रै आग्रह गरेको स्पष्ट पारे।