दशैंको अवसरमा काटिएका अग्रिम टिकटहरू कायमै राख्ने निर्णय गरिएको छ। मंगलबार यातायात व्यवस्था विभागमा बसेको बैठकले धेरै यात्रुले टिकट लिइसकेकाले अग्रिम टिकट लिइसकेकालाई प्राथमिकता दिने निर्णय गरेको हो। नयाँ अग्रिम टिकट भने गृह मन्त्रालयको विपद् सम्बन्धी सूचना र बाटोको अवस्था हेरेर मात्र काटिनेछ।
जोखिमयुक्त सडक खण्डमा विशेष ध्यान
काठमाडौं–नारायणगढ सडक खण्डलाई जोखिमयुक्त मानिँदै, यस सडकमा सार्वजनिक सवारीसाधनलाई उज्यालो समयमा गन्तव्यमा पुर्याउने व्यवस्था मिलाउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ। यसलाई ध्यानमा राख्दै सुरक्षा निकायले यातायात व्यवस्थापनमा सहजीकरण गर्नेछ।
अत्यावश्यक सामग्री राखेर मात्रै सवारी सञ्चालन
मध्यम तथा लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, पिउने पानी, र खान मिल्ने खानेकुरा राखेर मात्र सवारीसाधन सञ्चालन गर्न व्यवसायीलाई अनुरोध गरिएको छ। यसले यात्रुको सुरक्षालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
वैकल्पिक मार्गको प्रयोग
ठूला र साना सवारीका लागि वैकल्पिक मार्ग पहिचान गरी प्राथमिकताका आधारमा सवारी सञ्चालन गरिनेछ। वैकल्पिक मार्गको जानकारी यातायात व्यवस्था विभागले सार्वजनिक गर्ने निर्णय पनि बैठकमा भएको छ।
अवरुद्ध सडक खुलाउन तैनाथ हेभी उपकरण
वर्षातका कारण अवरुद्ध भएका सडकहरू खुलाउन सडक विभागलाई हेभी उपकरण तैनाथ राख्न अनुरोध गरिएको छ। साथै, स्थानीय तहहरूले पनि आफ्ना उपकरण प्रयोग गरेर बाटो खुलाउन सहयोग गर्न आग्रह गरिएको छ।
नियमित सूचना अपडेट
देशभरको विपद् र सडक अवस्थाबारे आवश्यक सूचना नेपाल प्रहरीले नियमित रूपमा आफ्नो फेसबुक पेजमा सार्वजनिक गर्ने निर्णय गरिएको छ। यसले यात्रुलाई बाटोको स्थितिबारे सचेत रहन मद्दत पुर्याउने अपेक्षा गरिएको छ।