पोखरा – जनप्रिय बहुमुखी क्याम्पसले आसन्न दसैं, तिहार, नेपाल सम्बत्, छठ, र ल्होसार पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सिर्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ।
श्रद्धाञ्जली र स्वास्थ्य लाभको कामना
कार्यक्रमको प्रमुख अतिथि क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजेक्छेले विपतमा ज्यान गुमाएका मृतकका प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरे। उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै शैक्षिक संस्थालाई गतिशील र जीवन्त बनाउन प्राध्यापक तथा कर्मचारीको भूमिका अहम् हुने बताएका छन्।
क्याम्पसको साख कायम राख्ने दायित्व
निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले शुभकामना मन्तव्य दिँदै भने, “मानित विश्वविद्यालयतर्फ उन्मुख क्याम्पसको साखलाई कायम राख्ने दायित्व शिक्षक र कर्मचारीको हो।” उनले गुणस्तरमा संझौता नगर्नु असल शिक्षकको भूमिका भएको बताउँदै क्याम्पसलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे।
सांस्कृतिक र रचनात्मक कार्यक्रम
क्याम्पस सञ्चालक समितिका सदस्य विजयराज आचार्यले साँस्कृतिक अतिक्रमको खतरा बढेको भन्दै नेपाली चाडपर्व र संस्कृति जोगाउन मितव्ययी र सिर्जनशील भएर मनाउन आग्रह गरे। कार्यक्रमको दौरान शिुलु चालिसे र टंकराज बरालले गीत प्रस्तुत गरे भने राजेन्द्र पौडेल र सुरेश रानाभाटले कविता वाचन गरेका थिए।
जनप्रिय क्याम्पसका उपलब्धिहरू
जनप्रिय बहुमुखी क्याम्पसले त्रिभुवन विश्वविद्यालयको सम्बन्धन र विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर मान्यता प्राप्त गरेको छ। क्याम्पसले आफ्नै पहलमा पाठ्यक्रम तयार गरी स्वयत्त कार्यक्रम अन्तर्गत एमविए इन हस्पिट्यालिटी म्यानेजमेन्ट र स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन (बिएमटिएम) का शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।
विद्यार्थी र प्राध्यापक संख्या
क्याम्पसमा प्रातः र दिवा सत्रमा ४,५०० भन्दा बढी विद्यार्थी अध्ययन गर्दैछन्। यसले देशभरका १,०९६ सामुदायिक क्याम्पसहरूमध्ये २०७२ र २०७३ मा शिक्षा मन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाएको छ। २०८१ मा गण्डकी प्रदेशको सर्वोकृष्ट सामुदायिक क्याम्पसको रूपमा पनि पुरस्कृत भएको छ।
गुणस्तर सुनिश्चितता र प्रशासनिक काम
विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएको छ र तेस्रो चक्रका लागि प्रक्रियामा रहेको छ। क्याम्पसमा १ सय ५० प्राध्यापक र ३८ जना कर्मचारी कार्यरत छन्।
बिदाका दौरान प्रशासनिक काम जारी
यही असोज १७ गतेदेखि कात्तिक १९ गतेसम्म प्राध्यापक र विद्यार्थीका लागि दसैं, तिहार, र छठको छुट्टी हुनेछ। यद्यपि, उपप्रशासक एकनारायण अर्यालले प्रशासनिक काम भने यथावत् सञ्चालन हुने जानकारी दिएका छन्।
कार्यक्रमको समापन
पब्लिक क्याम्पस प्राध्यापक संघ नेपाल र पब्लिक क्याम्पस कर्मचारी संघ जनप्रिय बहुमुखी क्याम्पस इकाईको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रमको अध्यक्षता विकास थापामगरले गरेका थिए। कर्मचारी संघका अध्यक्ष देवी पनेरुले स्वागत मन्तव्य राखेका थिए भने प्राध्यापक संघका सचिव राजेन्द्र पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।