असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढीपहिरोले अवरुद्ध बनेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाडौँ जोड्ने सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आउने भएको छ। कुलेखानी ड्याममुनि नयाँ डाइभर्सन निर्माण र महालक्ष्मी खोलाले भत्काएको सडक मर्मतपछि यातायात पुनः सञ्चालनमा आउने जानकारी प्राप्त भएको छ।
मर्मतको अन्तिम चरण
बागमती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलले फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनले भने, "भोलि आइतबार दिउँसो १ बजेबाट सवारीसाधन निर्वाध सञ्चालन गर्न सकिनेछ।" कुलेखानी ड्याममुनिको पुलको पहँुच मार्ग भत्किएपछि तलतिर डाइभर्सन निर्माण गरिएको छ।
महालक्ष्मी खोलामा डाइभर्सन
महालक्ष्मी खोलाले बगाएको सडकका अप्ठ्यारो ठाउँहरूमा पनि डाइभर्सन निर्माण गरी बाटो खुलाइएको छ। यस क्रममा शनिबार केही मोटरसाइकलहरू सञ्चालनमा आएका छन् र फसेका सवारीसाधनहरू पनि गन्तव्यतर्फ लागेका छन्।
निरीक्षण भ्रमण
शनिबार बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थप्रसाद चिलुवाल, र प्रहरी प्रमुख विश्वराज खड्काको टोलीले फाखेल र महालक्ष्मी खोलामा सडकको निरीक्षण गरेको थियो। कुलेखानी–सिस्नेरी सडक खण्ड सोमबारसम्म सञ्चालनमा आउने अपेक्षा गरिएको छ।