शेषराज भट्टराई नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष हुन। उनको परिचय केवल शैक्षिक परामर्शमा मात्र सीमित छैन, भट्टराई एक कुशल सञ्चारकर्मी पनि हुन्। उनको रुचि विशेषगरी अध्ययन र लेखनमा छ, जसले उनलाई एक गम्भीर पाठक र लेखकको रूपमा चिनाएको छ।
हालै, हामीले अध्यक्ष भट्टराईसँग १० वटा प्रश्न राखेर उनको विचार बुझ्ने प्रयास गरेका छौं।
१. लेखकः तपाईलाई मनपर्ने लेखक को हुन् ?
मेरो मनपर्ने लेखक युभल नोआ हरारी हुन्। उनको पुस्तकहरूले मानव सभ्यताको गहिराइ र भविष्यलाई अद्वितीय तरिकाले प्रस्तुत गर्छन। उनको पुस्तक सेपियन्स, होमो डेओस, र हालको नेक्ससले मळाई निक्कै प्रभावित गरेको छ।
२. सिनेमा – तपाईँलाई कुन चलचित्रले गहिरो प्रभाव पारेको छ ?
सिन्डलर्स लिस्ट सिनेमाले ममा गहिरो प्रभाव पारेको छ। दोस्रो विश्वयुद्धको समयमा, जर्मन कब्जामा रहेका पोल्याण्डमा ओस्कार सिन्डलर नाम गरेको एक नाजी जर्मन व्यवसायीले आफ्नो यहूदी श्रमिकहरूको रेस्क्युको लागी गरेको अथक प्रयास र उनीहरूको ज्यान बचाउन लगाएको विभिन्न उपायहरू नै यो सिनेमाको सार हो। मेरो विचारमा यो स्टिभन स्पिलबर्गको उत्कृष्ट सिनेमा हो ।
३. पुस्तक - तपाईँलाई हाल मनपरेको पुस्तक कुन हो ?
म गैर–आख्यान पुस्तकहरू धेरै पढ्न रूचाउछु। त्यसमा पनि म प्रायः कूटनीति, राजनीति, आत्मकथा, अन्तर्राष्ट्रिय सम्बन्ध र इतिहाससँग सम्बन्धित पुस्तकहरू पढ्ने गर्छु।
केही दिन अघि मैले फरीद जकरियाको पुरानो पुस्तक "द पोस्ट–अमेरिकन वर्ल्ड" पढेँ। जकरिया प्रख्यात पत्रकार हुन् जसलाई कूटनीति र अन्तर्राष्ट्रीय सम्बन्धमा अथाह ज्ञान छ । यस पुस्तकमा, जकारियाले अमेरिकाको सबैभन्दा ठूलो शक्ति यसको ईनोभेटिभ विचारहरू उत्पन्न गर्ने क्षमतामा रहेको तर्क गरेका छन, विशेष गरी यसको विश्व–स्तरीय विश्वविद्यालयहरूको कारणले। पुस्तकमा त्यहाँ धेरै चीजहरू छन् जसले हामीलाई विश्व व्यवस्था र यसमा नेतृत्व गर्न अमेरिकाको भूमिकालाई बुझ्न मद्दत गर्छ ।
४. व्यक्तित्व – तपाईलाई मनपर्ने व्यक्तित्व को हो ?
यहा मेरो ‘पिक’ ह्युग हेफनरको व्यक्तित्वको हुनेछ। हेफनरको व्यक्तित्वबाट म धेरै प्रभावित छु। हेफनर एक सामान्य अमेरिकी उद्यमी र कार्टुनिस्ट थिए, जसले १९५३ मा प्लेब्वाई म्यागजिनको स्थापना गरेर सबैलाई चकित पारिदिए। ह्युग हेफनर १९५० र १९६० का दशकमा एक अद्वितीय र प्रभावशाली व्यक्तित्वका रूपमा उभिएका थिए, जसले अमेरिकी समाजमा ठूलो परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका निभाए। जब उनले ज्ञ९५३ मा प्लेब्वाई म्यागजिन स्थापना गरे, तब उनको छबी यौनताको बारेमा खुला चर्चा गर्ने एक क्रान्तिकारीको बन्यो।
ह्युग हेफनर र मार्लिन मोनरोको सम्बन्ध अमेरिकी संस्कृतिमा महत्वपूर्ण छ। १९५३ मा प्लेबॉय म्यागजिन सुरु गर्दा, हेफनरले मोनरोको नग्न तस्बिरलाई पहिलो अंकमा समावेश गरेका थिए। यो तस्बिर प्लेबॉयको लोकप्रियताको लागि महत्त्वपूर्ण रहन गयो र मोनरोको छवि यौनता र सुन्दरताको प्रतीकका रूपमा उभ्याईदियो। केही हदसम्म, यसले यौन क्रान्ति र व्यक्तिगत स्वतन्त्रताको बारेमा खुला संवादलाई प्रवर्धन गर्यो, जसले त्यो बेलाको अमेरिकी मूल्य र परंपरालाई चुनौती दिएको थियो।
मेरो व्यक्तिगत धारणामा, प्लेबॉय लाई मात्र नग्न फोटोग्राफीको लागि प्रसिद्ध बनाएको थिएन, बरु यसका विचारशील लेखहरू, सेलिब्रेटी अन्तर्वार्ताहरू र साहसी फोटो शूटहरूको माध्यमबाट आधुनिक अमेरिकी संस्कृति र संसारमै यौन क्रान्तिको चर्चा र व्यक्तिगत स्वतन्त्रताको महत्वलाई एक शक्तिशाली डिस्कोर्सको सुरूवात गरेको थियो।
प्लेब्वाई म्यागजिन मार्फत, हेफनरले व्यक्तिगत अधिकार र स्वतन्त्रता र यौनता सम्बन्धी विषयहरूमा खुला संवादको लागि एउटा प्लेटफर्म सिर्जना गरे। १९६० का दशकमा अमेरिकामा, जब नागरिक अधिकार र महिला मुक्ति जस्ता आन्दोलनहरू बृद्धि गरिरहेका थिए, तब हेफनरको कामले समाजमा परिवर्तनको लहर ल्याउन मद्दत गरेको थियो। उनले परंपरागत सोचलाई चुनौती दिए र नयाँ विचारहरूको प्रवर्धन गरे। त्यतिबेला अमेरिकी समाजमा अश्वेत जनताको अधिकारको पक्षमा थिएन ।
तर हेफनर र उनको प्लेब्वाई म्यागजिनले मार्टिन लुथर किंग जुनियर र माल्कम एक्स जस्ता नेतालाई ठाउँ उपलब्ध गराएको थियो।
उनको योगदानले आजको विश्वमा यौन स्वतन्त्रता र व्यक्तिगत अधिकारको विषयमा रहेका विचारहरूलाई नया ‘सेप’ दिएको मेरो बुझाई रहेको छ ।
५. पब्लिक इंटेलेक्चुअल – मनपर्ने पब्लिक इंटेलेक्चुअल को हो ?
धेरै छन्। त्यसमध्ये हार्वर्ड युनिभर्सिटीका प्रोफेसर स्टिभन पिंकर मलाई एकदमै मनपर्ने पब्लिक इंटेलेक्चुअल हुन । पिंकर एक प्रसिद्ध मनोवैज्ञानिक र लेखक पनि हुन । हामी कसरी सोच्ने र व्यवहार गर्ने भनेर व्याख्या गर्न पिंकरले मनोविज्ञान, भाषाविज्ञान, र जीवविज्ञान जस्ता विभिन्न क्षेत्रहरूबाट विचारहरू एकसाथ ल्याउछन ।
स्टिभन पिंकर को कामले मानव समाजको प्रगति र हिंसाको इतिहासलाई नयाँ दृष्टिकोणले हेर्न प्रेरित गरेको छ।
६. सोशल मीडिया इन्फ्लुएंसर – को सोशल मीडिया इन्फ्लुएंसर मनपर्छ ?
सोशल मीडियामा म टेलर स्विफ्टलाई धेरै पछ्याउँछु। मलाई उनको गीत मन पर्छ। त्यो भन्दा पनि मलाई उनको सामाजिक सञ्जालको व्यक्तित्व मन पर्छ। इन्स्टाग्राममा मात्र स्विफ्टका २८३ मिलियन फलोअर्स छन् । मेरो बिचारमा, टेलर स्विफ्ट पप स्टार मात्र होइनन्, उनि कल्चरल फेनोमेनन हुन । उनी केवल संगीतमा मात्र नभई सामाजिक मुद्दाहरूमा पनि खुलेर बोल्ने व्यक्ति हुन्। उनी सधैं आफ्नो प्रभावलाई समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रयोग गर्छिन्। स्विफ्टले महिला सशक्तिकरण, एलजीबिटिक्यू अधिकार, र मानसिक स्वास्थ्य जस्ता विषयहरूमा आवाज उठाइरहेकी छन्। मेरो नजरमा, उनका सोच र कार्यहरूले उनलाई एउटा शक्तिशाली सोशल मीडिया इन्फ्लुएंसरका रूपमा स्थापित गराएको छ। उनले विभिन्न सामाजिक मञ्चहरूमा आफ्नो आवाज उठाउँदै सामाजिक परिवर्तनमा योगदान पुर्याइरहेकी छन्। करिब एक महिना अघि यिनै अमेरिकी पप गायिकाले इन्स्टाग्राममा कमला ह्यारिसको खुलेर समर्थन गरेकी थिइन।
७. राजनीतिक नेता – तपाईलाई प्रेरणादायी लाग्ने नेता को हुन् ?
ली क्वान यु, सिंगापुरका पहिलो प्रधानमन्त्री, सिंगापुरलाई एक गरिब राष्ट्रबाट विश्वका धनी देशहरूको सूचीमा ल्याउने अद्वितीय राजनीतिक नेता थिए। १९५९ देखि १९९० सम्मको कार्यकालमा उनले आर्थिक विकास र सामाजिक स्थिरतामा केन्द्रित रणनीतिहरू अपनाए, जसले सिंगापुरलाई एक प्रमुख वित्तीय केन्द्रमा परिणत गर्यो।
उनले खुला बजारको अवधारणालाई प्रोत्साहित गर्दै विदेशी लगानीको भरपूर उपयोग गरे, जसले सिंगापुरको औद्योगिकीकरण र आर्थिक प्रगति तिव्र बनायो। लीको नेतृत्वमा, सिंगापुरले शिक्षा, स्वास्थ्य, र जनताको जीवनस्तरमा उल्लेखनीय सुधार गर्यो। उनले सामाजिक अनुशासनलाई उच्च प्राथमिकता दिएर कडा कानून र नियमहरू लागू गरे, जसले देशमा स्थिरता र सुरक्षित वातावरण सिर्जना गर्यो।
उनका दृष्टि र नीतिहरूले सिंगापुरलाई एक बहुसांस्कृतिक समाजको रूपमा स्थापित गरायो, जहाँ चिनियाँ, मलय, र भारतीय समुदायले सामूहिक रूपमा सहअस्तित्व गर्दै राष्ट्रिय पहिचानलाई मजबुत बनाएका छन्। आजको सिंगापुरमा ली क्वान युको नेतृत्व र योगदानका प्रभावहरू स्पष्ट रूपमा देखिन्छन्, र उनीलाई धेरैले आधुनिक सिंगापुरको निर्माणकर्ता मान्छन्।
८. ऐतिहासिक व्यक्ति – तपाईँले भेट्न चाहनुभएको ऐतिहासिक व्यक्ति को हुन् ?
म इजिप्टको टोलेमाइक साम्राज्यको रानी, प्राचीन इजिप्टको एक महत्वपूर्ण ऐतिहासिक व्यक्ति क्लियोपेट्रा लाई भेट्न चाहन्छु। उनलाई धेरैले रहस्यमय र आकर्षक मान्छन । तर उनी असाधारण रानी थिइन्, उनको नेतृत्व क्षमताले मलाई सानैदेखी सदैव प्रेरित गर्यो। क्लियोपेट्रा इजिप्टकी एक अद्वितीय महिला थिइन् जसले रोमका दुई शक्तिशाली ऐतिहासिक योद्धाहरूलाई प्रभाव पार्न सफल भइन्—जुलियस सीजर र मार्क एन्टोनी।
यी दुई पुरुष केवल रोमका प्रमुख जनरल र नेता मात्र थिएनन्, बरु आफ्नो समयका सबैभन्दा शक्तिशाली व्यक्तित्वका रूपमा पनि चिनिन्थे। क्लियोपेट्राले आफ्नो कूटनीतिक चातुर्य र प्रभावकारी सम्बन्धहरू मार्फत यी दुईलाई आफ्नो पक्षमा आकर्षित गरिन्। तर कसरीरु यो सदैब मेरो जिज्ञासा बन्यो ।
क्लियोपेट्राले जुलियस सीजरलाई आफ्नो राजनीतिक योजनाहरूमा संलग्न गराएर आफ्नो शासनकालको स्थायित्वको लागि सहयोग प्राप्त गरिन्। सीजरले उनलाई इजिप्टको रानीको रूपमा मान्यता दिए र यसले क्लियोपेट्रालाई इजिप्टको समृद्धि र राजनीतिक स्थायित्वको सन्दर्भमा सशक्त बनायो।
मार्क एन्टोनीसँगको सम्बन्धले पनि तिनको लागि एक अद्वितीय अवसर सिर्जना गर्यो। सीजरको हत्या पछि, मार्क एन्टोनीले क्लियोपेट्रासँगको नजिकको सम्बन्धलाई राजनीतिक र सैन्य कूटनीतिमा एक बलियो साधनका रूपमा प्रयोग गरे। उनले इजिप्टलाई रोमन साम्राज्यको शक्तिशाली समर्थनको रूपमा प्रयोग गर्ने योजना बनाए। क्लियोपेट्राको करिश्मा र बुद्धिमत्ताले उनीहरूलाई मिलेर ओक्टोभियनको विरुद्ध लड्न प्रेरित गर्यो, अचम्म, एक महिलाले कसरी शत्रु राज्यका दुई शक्तिशाली पुरुषहरूलाई प्रभावित पारिन। त्यसकारण क्लियोपेट्रा भेट्न मन छ ।
९. संगीत – तपाईँलाई मनपर्ने संगीत के हो ?
म बीटल्सको फ्यान हुँ। बीटल्सका सदस्यहरू जॉन लेनन, पॉल मेकार्ट्नी, जर्ज ह्यारिसन, र रिंगो स्टारले मिलेर संगीतको एक नयाँ युगको सुरुवात गरे भन्ने मेरो बुझाई छ ।
१०. चलचित्र निर्देशक – तपाईँलाई मनपर्ने निर्देशकहरू को हुन् ?
मार्टिन कोर्सेजी, फ्रान्सिस फोर्ड कप्पोला, क्रिस्टोफर नोलन, क्वेन्टिन टेरेनन्टिनो, र मिन भाम मेरा मनपर्ने निर्देशक हुन्।