हेटौंडा–कुलेखानी–फाखेल–सिस्नेरी हुँदै काठमाडौं जोड्ने सडक पुनः दुईतर्फी सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रस्वरोवर गाउँपालिका-२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मत सम्पन्न भएपछि यातायात पुन: दुवैतर्फ सुचारु गरिएको हो।
पहिले एकतर्फी मात्रै सञ्चालन
असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले सडकमा क्षति पुर्याएको थियो। त्यसपछि अस्थायी मर्मत गरी असोज २० गतेदेखि यातायात आंशिक रूपमा सञ्चालनमा ल्याइएको थियो। तर, ह्युमपाइप राख्नुपर्ने भएकाले कात्तिक २ गतेदेखि एकतर्फी मात्र यातायात सञ्चालन गरिएको थियो।
दुईतर्फी यातायात सञ्चालन
मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले अब मर्मत कार्य सम्पन्न भएपछि पुन: दुईतर्फी यातायात सुचारु भएको जानकारी दिएका छन्।