काठमाडौं - जिल्ला प्रहरी परिसर, काठमाडौंका केही प्रहरी अधिकारीहरू र जवानहरूको संलग्नतामा एक क्रिप्टो मुद्रा मुद्दा रहस्यमय देखिएको छ। घटनामा संलग्न प्रहरीले क्यानडामा बस्दै आएका आशिष आचार्यलाई पक्राउ गरी ५० लाख रुपैयाँ असुलेर छाडेको आरोप लगाइएको छ। आचार्यलाई धम्की दिँदै रकम असुली भएको यो प्रकरणले प्रहरीमाथि गम्भीर प्रश्न उठेको छ।
प्रहरीको विवादास्पद निर्णय प्रक्रियामा विरोधाभास
डीएसपी हरि खतिवडा, इन्सपेक्टर प्रतिक सिंह, वाङदेल लामा, र सई माधव थापाबीच घटनामा असहमति देखिएको छ। डीएसपी खतिवडाले आचार्यलाई म्याद थप गरि मुद्दा चलाउन भनिएको भए पनि, इन्सपेक्टर सिंहले डीएसपीकै निर्देशनमा म्याद थप नगरी आचार्यलाई छाड्ने निर्णय भएको बताए। यी दुई प्रहरी अधिकारीहरू बीचको विरोधाभाषका कारण आन्तरिक मिलेमतोको आशंका गरिएको छ।
पैसा असुली र बिचौलियाको भूमिका
हवल्दार गणेश खड्काले बिचौलिया तेज तामाङसँग मिलेर आचार्यलाई ५० लाख नगद बुझ्न बाध्य बनाएका थिए। त्रिचन्द्र कलेजको शौचालयमा बिचौलियाले नगद लिएको र त्यसको लगत्तै आचार्यलाई छाडिएको खुलासा भएको छ। आचार्यको मोबाइलमा ८ हजार ३८ USDT (युएसडिटी) देखिएको थियो, जसलाई तर्साएर ठूलो रकम असुलेको आरोप लगाइएको छ।
प्रारम्भिक छानबिन र समिति सिफारिस
काठमाडौं उपत्यका प्रहरी कार्यालयका एसपी प्रजित केसीको नेतृत्वमा छानबिन समिति गठन भएको छ। समितिले इन्सपेक्टर प्रतिक सिंहलाई सचेत गराउने र हवल्दार खड्का तथा जवान साजन शर्मालाई मुद्दा चलाउने सिफारिस गरेको छ। आचार्यको मोबाइलमा भेटिएका डाटा अनुसार नेपालमा बस्ने उनकी दिदीसँग समेत मिलेर क्रिप्टो कारोबार भएको पाइएको छ, जसले गर्दा मुद्दा चलाउन पर्याप्त आधार भए पनि, आचार्यको क्यानाडा भिसा र करियरको बहाना बनाएर मुद्दा चलाउन छोडिएको बताइएको छ।