काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा उपसभापतिद्वय डोलप्रसाद अर्याल (डिपी) र स्वर्णिम वाग्लेलाई बेग्लाबेग्लै जिम्मेवारी दिइएको छ। शनिबार सम्पन्न केन्द्रीय समिति बैठकले पार्टी गतिविधिहरूलाई गतिशील बनाउने उद्देश्यले यी दुई उपसभापतिहरूलाई फरक-फरक जिम्मा दिएको हो।
उपसभापति अर्यालको नेतृत्वमा आन्दोलन समिति गठन
उपसभापति डोलप्रसाद अर्यालको नेतृत्वमा सातै प्रदेश सभापतिहरू सम्मिलित आन्दोलन सञ्चालन मूल समिति गठन गरिएको छ। कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिअनुसार, यो समिति सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका कारण पक्राउ गरिएको आरोप लगाउँदै विरोध प्रदर्शन गर्ने जिम्मामा रहनेछ।
उपसभापति वाग्लेलाई नागरिक संवादको जिम्मेवारी
त्यस्तै, अर्को उपसभापति स्वर्णिम वाग्लेलाई पार्टीको राजनीतिक संवाद र नागरिक संवादको जिम्मेवारी दिइएको छ। वाग्लेको संयोजकत्वमा आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियार पनि केन्द्रीय समितिले दिएको छ, जसले पार्टीको सांगठानिक पक्षलाई सुदृढ गर्ने लक्ष्य राखेको छ।
संगठानिक गतिविधिहरू पुनः सञ्चालन
रास्वपाले स्थगित रहेका जिल्ला भेला र सांगठानिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णय पनि गरेको छ। सभापति लामिछानेको गिरफ्तारीपछि ठप्प भएका गतिविधिहरूलाई पुनःसक्रिय बनाउने योजना अनुसार जिल्ला तहका भेलाहरू पुनः सुरु गर्ने तयारीमा पार्टी रहेको जनाइएको छ।
लामिछानेको गिरफ्तारी र रास्वपाको प्रतिक्रिया
सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा पोखरामा हिरासतमा राखिएको छ। सभापति लामिछानेले कुनै कार्यवाहक सभापतिको नियुक्ति नगरेका कारण पार्टीको नियमित कार्यमा केही अवरोध देखिएको थियो। लामिछानेको गिरफ्तारीविरुद्ध रास्वपाले पोखरासहित देशका विभिन्न ठाउँमा आन्दोलन गर्दै आएको छ।