नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सहकारी अपचलनमा संलग्न जोसुकैलाई कारवाही गरिनुपर्ने र सबै बचतकर्ताले आफुले जम्मा गरेको पैसा फिर्ता पाउनुपर्ने बताएका छन्। समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष नेपालले सहकारी अपचलनले बचतकर्ताहरूको विश्वासलाई गम्भीर असर पारेको भन्दै दोषीलाई उन्मुक्ति दिन नहुने र निर्दोषलाई फसाउनु नहुने बताएका हुन्।
राजनीतिक पूर्वाग्रहविना न्याय दिलाउनु सरकारको दायित्व
अध्यक्ष नेपालले राजनीतिक पूर्वाग्रहका आधारमा कुनै पनि कार्य गर्न नहुने र सहकारीको विश्वसनीयता कायम गर्न सरकार जिम्मेवार रहनुपर्ने बताए। उनले सहकारी अपचलनमा मुछिएकाहरूलाई कानूनअनुसार कारवाही गरी बचतकर्ताको पैसा फिर्ता गराउने वातावरण बनाउनुपर्नेमा जोड दिए।
एकता र सहकार्यमा पार्टीको सर्त
अध्यक्ष नेपालले पार्टीको हाल अन्य कुनै दलसँग एकता गर्ने योजना नरहेको स्पष्ट पारे। उनले एकीकृत समाजवादी विचार मिल्ने शक्ति वा दलसँग सहकार्य गर्न तयार रहेको बताउँदै, परिस्थिति अनुरूप मोर्चाबन्दी गर्ने सम्भावना रहेको संकेत दिए।