काठमाडौं - यस वर्षको भाइटीकाकै दिन अर्थात् कात्तिक १८ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावका कारण यो वर्षा कात्तिक १८ आइतबार अपराह्नदेखि सोमबारसम्म जारी रहने अनुमान गरिएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार विशेष गरी आइतबारको तुलनामा सोमबार धेरै क्षेत्रमा वर्षा हुनसक्ने सम्भावना देखिएको छ।
वर्षाको कारण र प्रभाव
यो पश्चिमी वायु मेडिटेरियन रिजनबाट आएको हो, जसले वायुमण्डलको माथिल्लो भागमा जलवाष्पयुक्त हावा ल्याएको छ भने अरेबियन सागरबाट तल्लो भागमा आएको हावासँग मिसिएर नेपालमा पानी पार्ने अवस्था बनाएको छ। यस कारणले गर्दा यो वर्षा वर्षायामको झरीजस्तो नहुने र यात्रामा खासै असर नपर्ने पूर्वानुमान छ।
पोष्ट मनसुनमा वर्षाको असामान्य गतिविधि
जल तथा मौसम विज्ञान विभागले यस वर्ष हिउँदयाममा जाडो कम र वर्षा बढी हुने सम्भावना पनि जनाएको छ। यस वर्षको मनसुन असोज २६ गते समाप्त भएपनि पोष्ट मनसुनमा पनि केही ठाउँमा असिना र वर्षाले तरकारी र अन्नबालीमा क्षति पुर्याएको छ। हालै कात्तिक ५ गते पर्वत र स्याङ्जामा असिनापानीको प्रभावले केही ठाउँमा क्षति पुगेको छ।