बुटवल - बुटवल उपमहानगरपालिका–८ रामनगरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीले चेकजाँचका क्रममा २९ तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ निवासी ३३ वर्षीय अकबर अली मियाँ र अर्घाखाँचीका सुनचाँदी पसल सञ्चालक सन्तोष परियार रहेका छन्।
गुप्त सूचनाका आधारमा बस चेकजाँच
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ गइरहेको लु.२ख ६५४२ नम्बरको यात्रुवाहक बसमा राजस्व छली गरी अवैध रूपमा सुन ल्याइएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो। इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले बसलाई रोक्दै चेकजाँच गरेको थियो।
सुनजस्तो देखिने बिस्कुट आकारको धातु बरामद
प्रहरीले चेकजाँचका क्रममा अन्दाजी ४९ लाख ५४ हजार ८१७ रुपैयाँ बराबरको पहेँलो रङको सुनजस्तो देखिने बिस्कुट आकारको दुई थान धातु बरामद गरेको छ। बरामद धातुको तौल २९ तोला ५८.१ लाल (३४५.०४ ग्राम) रहेको प्रहरीले जनाएको छ।