धनगढी - कैलाली जिल्लामा तिहारको समयमा राति १० बजेपछि देउसी-भैलो खेल्न प्रतिबन्ध लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा मनोरञ्जनात्मक कार्य, विशेषत: देउसी-भैलो र नाचगान, राति १० बजेपछि गर्न नपाइने निर्णय गरिएको छ। प्रशासनले कानून विपरीतका अवाञ्छित गतिविधि हुनसक्ने भन्दै यस्तो निर्णय गरेको हो।
संस्कृति र मर्यादाको संरक्षणको उद्देश्य
सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जारी गरेको सूचनामा, आधुनिकताको नाममा नेपाली समाजको परम्परा, मर्यादा, र अनुशासन विपरीतका गतिविधिले समाजको शान्तिमा असर पार्ने भएकाले यस्तो निर्णय गरिएको उल्लेख छ।
पटका र आतिशबाजीमा रोक
प्रशासनले पटका, आतिशबाजी जस्ता प्रज्वलनशील पदार्थको प्रयोग र ओसारपसारमा समेत रोक लगाएको छ। तोकिएको समयभन्दा बढी देउसी-भैलो खेलेको पाइएमा कानुनी कारवाही गरिने चेतावनी पनि दिएको छ।
दिपावलीमा आगलागीको जोखिमप्रति सचेतना
प्रशासनले दिपावलीमा दियो, मैनबत्ती, पालाहरु बाल्ने वा विद्युतीय उपकरणको प्रयोग गर्दा आगलागीको जोखिम हुन सक्ने भन्दै सचेत रहन अनुरोध गरेको छ।