हङकङमा चलिरहेको इन्टरनेशनल सिक्सेस टुर्नामेन्टमा नेपालले इंग्ल्याण्डमाथि शानदार जित हासिल गरेको छ। ९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले केवल ४.२ ओभरमै बिना कुनै विकेट गुमाई ९९ रन बनाउँदै खेल जित्यो। यो जितले नेपाललाई टुर्नामेन्टमा बलियो स्थान दिलाएको छ।
इंग्ल्याण्डको पारीमा रवि बोपाराको योगदान
पहिलो ब्याटिङ गर्ने क्रममा इंग्ल्याण्डले ५.५ ओभरमा ९७ रन बनाएको थियो। इंग्ल्याण्डका कप्तान रवि बोपाराले १२ बलमा ४९ रन बनाउँदै टिमलाई राम्रो सुरुवात दिलाएका थिए। सामित पटेलले १७ बलमा ३९ रन बनाएर इंग्ल्याण्डको स्कोरलाई प्रतिस्पर्धात्मक बनाए। तर नेपालका बलरहरूले अनुशासित प्रदर्शन गर्दै इंग्ल्याण्डको रन गति नियन्त्रणमा राखे।
नेपालको बलिङ प्रदर्शन
नेपालका प्रतिस जीसीले २ ओभरमा १८ रन खर्चेर ३ विकेट लिँदै इंग्ल्याण्डको महत्वपूर्ण विकेट झारे। बिबेक यादव र लोकेश बमले पनि एक-एक विकेट लिएर इंग्ल्याण्डलाई दवावमा राख्न मद्दत पुर्याए। प्रतिसको बलिङले इंग्ल्याण्डको शीर्ष क्रमलाई ध्वस्त पार्दै नेपाललाई खेलमा बलियो स्थान दिलायो।
सन्दीप जोरा र राशिद खानको विस्फोटक पारी
९८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका कप्तान सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै १२ बलमा ५० रन बनाए, जसमा ३ चौका र ६ छक्का सामेल थिए। उनको शानदार प्रदर्शनले नेपाललाई जितको नजिक पुर्यायो। उनी रिटायर्ड हर्ट भएर बाहिर गएपछि लोकेश बम र राशिद खानले आक्रमणलाई जारी राखे। राशिदले केवल ५ बलमा २१ रन बनाउँदै खेललाई छिटो समाप्त गरे।