काठमाडौं - रोबर्ट लेवान्डोस्कीको उत्कृष्ट प्रदर्शनसँगै बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित गरेको छ। यस जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ।
लेवान्डोस्कीको गोल संख्या ९९ पुग्यो
यस खेलमा दुई गोल गरेका लेवान्डोस्कीको च्याम्पियन्स लिगमा गोल संख्या ९९ पुगेको छ। अब उनी च्याम्पियन्स लिगमा एक सय गोल पूरा गर्न केवल एक गोल मात्र टाढा छन्। यस आँकडामा क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी मात्र अगाडि छन्, जसले च्याम्पियन्स लिगमा एक सयभन्दा बढी गोल गरेका छन्।
बेलग्रेडविरुद्ध खेलको सम्पूर्ण विवरण
बेलग्रेडको मैदानमा भएको खेलमा इनिगो मार्टिनेजले १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। २७औं मिनेटमा बेलग्रेडका मातोम्पा एमभुम्पाले बराबरी गोल गरे। तर, लेवान्डोस्कीले ४३औं र ५३औं मिनेटमा लगातार दुई गोल गर्दै बार्सिलोनालाई ३-१ को अग्रता दिलाए। त्यसपछि कप्तान राफिन्हाले ५५औं मिनेटमा र फर्मिन लोपेजले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
बार्सिलोनाको सानदार यात्रा
बार्सिलोनाले आफ्नो पहिलो खेलमा मोनाकोसँग पराजित भएपनि त्यसपछि योङ ब्वाइज, बायर्न म्युनिख र रेड स्टार बेलग्रेडलाई हराउँदै समूह चरणमा बलियो प्रदर्शन गर्दै आएको छ। चार खेलबाट ९ अंक जोड्दै बार्सिलोना छैटौं स्थानमा उक्लिएको छ।