बीरगंज । नेपाल पत्रकार महासंघ, पर्साका सदस्य एवम वीरगञ्जका क्रियाशील पत्रकार जियालाल साहलाई समाचार लेखेकै कारण केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत दिइरहेको मानसिक तानव र दबाबप्रति नेपाल पत्रकार महासंघ पर्साले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघ पर्साका सचिव बिजय महतोले शुक्रवार एक बिज्ञप्ति जारी गर्दै सिधा कुरा डट कममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पर्साको सखुवाप्रसौनीमा आयोजित एक कार्यक्रममा ‘विवादास्पद पृष्ठभूमि’का व्यक्तिलाई पार्टीमा प्रवेश गराएका ेसम्बन्धी समाचार लेखेको बाहानामा पत्रकार साहविरुद्ध सामाजिक सञ्जालमा फोटो नै राखेर धम्कीपूर्ण स्ट्याटस लेख्नु÷लेख्न लगाउनु आपत्तिजनक भएको जनाएका छन ।
प्रकाशित समाचारप्रति चित्त नबुझेको अवस्थामा कानूनी उपचारको विधि र प्रक्रिया हुँदाहुँदै सामाजिक सञ्जालमार्फत धम्की दिनु आम सञ्चारकर्मी र सञ्चारमाध्यमप्रतिको बक्रदृष्टि हो । विगत केही समययता राजनीतिकदेखि राज्यका निकायहरूले सञ्चारकर्मीप्रति देखाइरहेको बदनियतपूर्ण व्यहारलाई महासंघले नजिकबाट नियालिरहेको छ बिज्ञप्तिमा भनिएको छ ।
अतः लोकतन्त्र र विधिको शासनको पक्षमा उभिएका सञ्चारकर्मीमाथिको यो व्यवहार र यसबाट पत्रकारहरूमा पर्न गएको असुरक्षाप्रति सरोकार राख्ने पक्ष तथा निकायको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीलाई सामाजिक सञ्जालबाट धाकधम्की दिने र मानमर्दन गर्नेहरूलाई कानूनी कारवाहीको दायरामा ल्याउन महासंघले बिज्ञीपत मार्फत माँग गरेको छ ।