प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कमलादीस्थित स्काइवाक टावरको अवलोकन भ्रमण गरेका छन् ।
प्रजातन्त्र दिवसको अवसर पारेर आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले टावरको टुप्पामा राष्ट्रिय झण्डा फहराएका थिए । उनले बालकदेखि वृद्धसम्म सबैका लागि सहज र आकर्षक गन्तव्यका रूपमा स्काइवाक टावर रहने प्रतिक्रिया दिए ।
प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य र आफ्ना सचिवालय सदस्यहरूसँग स्काइवाक टावर पुगेका थिए । सार्वजनिक बिदाका अवसरमा भएको प्रधानमन्त्रीको भ्रमणले पर्यटन व्यवसाय क्षेत्रलाई हौसला प्रदान गरेको स्काइवाक टावरका प्रबन्ध निर्देशक विष्णुहरि पाण्डेले बताए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले टावरको २२ औँ तलामा रहेको स्काइ रेस्टुरेन्टमा खाजा समेत ग्रहण गरेका थिए ।
कुल ७८.५ मिटर अग्लो स्काइवाक टावरमा जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामाथि हिँडेर साहसिक मज्जा लिन सकिन्छ । काठमाडौं उपत्यकामा यस प्रकारको सुविधा उपलब्ध गराउने यो पहिलो संरचना हो । परियोजनाका लागि करिब २ अर्ब रुपैयाँ लगानी गरिएको लगानीकर्ताहरू बताउँछन् ।
स्काइवाक टावरबाट हेर्दा रानीपोखरी र घण्टाघर नजिकै रहेको अनुभूति हुन्छ । २५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट सुविधा रहेको छ भने बाँकी तीन तलामा सिँढीमार्फत जान सकिन्छ । दुईवटा लिफ्ट रहेका टावरमा एक पटकमा ४५ जनासम्म तलमाथि गर्न सक्ने क्षमता रहेको छ ।