काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिपरहरुले कानुन नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिपरको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिपरहरुले कानुन मान्ने नगरेको बताए । टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ ।
सांसद झाले सीतापाइला र धार्केमा टिपर हिँड्न अनुमति नदिएको भएपनि जबरजस्ती हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
शुक्रबार बिहान पौने ४ बजेतिर बा २ क ६५८० नम्बरको टिपर अनियन्त्रित भएर काठमाडौंको साँखुमा दुर्घटनामा परेको हो । टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु समेत भएको थियो ।