रौतहट । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्पष्ट पारे ।
आज बिहान रौतहटको गरुडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले इतिहासको चर्खा कहिले पनि नफर्किने बताए । उनले कसैलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको बताए ।
अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेश जागरण अभियानअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेको हो ।