मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्ने गरी काम गर्नुपर्ने बताएका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित पथरी खानेपानी आयोजनाको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई साकार पार्न सबै जुट्नु पर्ने बताए ।
‘पथरी शनिश्चरे खानेपानी आयोजनाको शिलान्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन । यो सरकारको प्रतिबद्धताको प्रतीक हो,’ उनले भने, ‘स्वच्छ पानी, स्वस्थ जीवन भन्ने मूल मन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघि बढौँ ।’
खानेपानी मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत् सरकारले सबै नागरिकसम्म स्वच्छ पानी पुर्याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए ।
सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवको भनाइ थियो ।