काठमाडौँ । हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारिको गाउँ लिमीमा पहिलो पटक साल्ट ट्रेडिङ कर्पोरेसनको आयोडिनयुक्त नुन पुगेको छ । नाम्खा गाउँपालिका सडक सञ्जालसँग जोडिएसँगै वडाको पहलमा नुन लिमी पुगेको हो ।
सिङ्गो गाउँवासीले पहिलो पटक आयोडिनयुक्त नुन उपभोग गर्न पाएको लिमीको हल्जीगाउँका फुर्बा तामाङले बताए । यसअघि ढिकेनुन प्रयोग गर्दै आएकामा यस पटकबाट लिमीको हल्जीगाउँका स्थानीयले आयोडिनयुक्त नुनको प्रयोग गर्न पाएको उनको भनाई छ ।
लिमी हल्जीगाउँकी फुटी तामाङले नुन भनेको ढिकेनुन मात्र भएको जानकारी भएको सन्दर्भमा आयोडिनयुक्त नुन दैनिक उपभोग गर्न पाएको बताईन् । लिमीको गाउँ स्थापना भएयता चिनियाँ ढिकेनुन प्रयोग गरिरहेका छन् । वडाको पहलमा गाउँमा आयोडिनयुक्त नुन पुगेको हो ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले निक्कै लामो प्रयासपछि लिमीमा लिमिटेडको ढुवानी अनुदानको नुन प्रयोग गर्न पाएको बताए । उनले पहिलो पटक १२० क्विन्टल नुन लिमी पुर्याएर स्थानीयलाई वितरण गरेको र अब उक्त नुन लिमीवासीले उपभोग गर्न सुरु गरेको जानकारी दिए । हुम्लामा सबैभन्दा सस्तो लिमिटेडको आयोडिनयुक्त नुनको मूल्य पर्छ । हुम्लामा प्रतिकेजी नौ रुपियाँमा सो नुन बिक्री हुँदै आएको छ । यसअघि ढुवानी महँगो पर्ने भएपछि लिमीमा नुन लिन सकिएको थिएन ।
लिमिटेड हुम्लाका प्रमुख राजबहादुर लामाले पहिलो पटक लिमीमा नुन पुर्याउन सफल भएको बताउदै आगामी दिनमा लिमीमा नुन ढुवानी जारी राखिने जानकारी दिए ।