काठमाडौं । काठमाडौं महानगरपालिकाले आगलागीका सम्भावित घटनालाई तत्काल नियन्त्रणमा लिन प्रविधिको प्रयोगलाई अभ्यास गर्न थालेको छ । आइतबार महानगरपालिकाले नगर प्रहरी, बारुण यन्त्र कार्यालयका अग्नि नियन्त्रक, प्रशासन विभाग, विपद व्यवस्थापन विभाग, प्रशासन विभाग र सूचना प्रविधि विभागका कर्मचारीसहित ४० जनालाई तालिम र अभ्यास गराएको हो ।

तालिम सैद्धान्तिक र प्रयोगात्मक (प्राक्टिकल)गरी दुई चरणमा सञ्चालन गरिएको थियो । सैद्धान्तिक कक्षामा ड्रोन प्रविधि, यसलाई प्रयोग गर्नुअघि प्रोपेलरको परीक्षण र जडान, ड्रोन दर्ता र नियामक निकाय, सञ्चालन प्रक्रिया, प्रयोग गर्न नहुने र सञ्चार समन्वय गरेर मात्र प्रयोग गर्नु पर्ने अवस्था, आपतकालीन अवस्था व्यवस्थापनमा यसको प्रयोग, आगलानी नियन्त्रणमा प्रयोग हुने ड्रोनमा राखिने फायर इस्टिङ्ग्विसर बल, नियमन व्यवस्थापनसँग सम्बन्धित सरोकारवाला लगायत विषयमा ज्ञान प्रदान गरिएको थियो ।

यस्तै फायर इस्टिङ्विसर बल राखिएको ड्रोनलाई आगलानी भएको ठाउँमा लैजाने र बल खसाल्ने विधिलाई अभ्यास गराइएको थियो।यो अभ्यासका लागि सभा गृहको प्राङ्गणमा राखिएको ड्रममा आगो बालिएको थियो । जसलाई ड्रोनमार्फत फायर इस्टिङ्ग्विसर बल खसाली निभाइएको हो । हाल काठमाडौं महानगरसँग पूर्ण क्षमतामा सञ्चालन हुनसक्ने चार ओटा दमकल छन् भने एउटा मर्मत भइरहेको छ ।

जनशक्ति ओसारपसार गर्न एउटा भ्यान र एउटा जिप उपलब्ध छन् भने आठ ओटा फायर मोटरसाइकल सञ्चालनमा छन् । दमकलमा पानी थप्न एउटा पानी ट्याङ्कर रहेको छ । साथै, डुबानका समयमा पानी तान्नका लागि चार ओटा पम्प छन् भने केही उपकरण मर्मत भइरहेको महानगरपालिकाले जनाएको छ ।
आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीहरूमा ड्राइराइजर जडान गरिएको छ । महानगरको विपद् व्यवस्थापन विभाग र वडाहरूको सहकार्यमा अझै केही साँघुरा गल्लीमा यसको जडान प्रक्रिया जारी रहेको महानगरले जनाएको छ ।