काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव हुने मिति घोषणा भएसँगै विद्यार्थी सङ्गठनका गतिविधि बढ्न थालेका छन् । आउँदो चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि जिल्लाका विभिन्न क्याम्पसमा विद्यार्थी सङ्गठनले विभिन्न कार्यक्रम गर्न थालेका हुन् ।
क्याम्पसमा क्रियाशील नेवि सङ्घ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अखिल छैटौँलगायतका विद्यार्थी सङ्गठनले आआफ्ना गतिविधि बढाएका छन् । उनीहरूले विद्यार्थी भेला गर्ने, चुनावमा उम्मेदवारबारे छलफल गर्ने, विद्यार्थीका मागबारे अन्तर्क्रिया गर्ने कार्यक्रम गरिरहेका छन् । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अन्तरगत आज मनोनयन पत्र वितरण हुँदैछ।
निर्वाचन तालिका अनुसार आज प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयनपत्र वितरण हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ। आज मनोनयनपत्र वितरण भएपछि भोलि प्रत्यक्ष र समानुपातिकतर्फको मनोनयन दर्ता गर्ने तालिका छ। यस्तै २८ गते उम्मेदवारको दाबी विरोध र सोही दिन बेलुकी ५ बजे उम्मेदवारको दाबी विरोधउपर छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ।
यस्तै २९ गते दिउँसो १ बजेसम्म उम्मेदारको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारले प्रचारप्रसार गर्ने समय फागुन २९ गते दिउँसो २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मलाई तोकिएको छ।
त्यसपछि मौन अवधि शुरू हुनेछ । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ। कतिपय क्याम्पसमा भने विवादका कारण तालिका हेरफेर भएको छ।