काठमाडौँ । आफूले कहिकतैबाट पनि न्याय नपाएको भन्दै बाराका एकजना पुरुषले आत्मदाहको प्रयास गरेका छन् । बारा पचरौता नगरपािलका वडा नम्बर–४ घर भइ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर–२४ बस्ने बृजकिशोर प्रसाद साहले मिटर ब्याजको मुद्दामा न्याय नपाएको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि सोमबार आत्मदाहको प्रयास गरेका हुन् ।
उनले विषादी सेवन तथा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
उनका अनुसार पीडितले आफू प्रहरीबाट न्याय नपाएको भन्दै एक पत्र लेख्दै आत्मदाह गर्न लागेको बुझिएको छ । आत्मदाह गर्न लाग्दा तत्कालै उद्दार गरेर पीडितलाई उपचारको लागि अस्पताल लगिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको जनाएको छ । आत्मदाह गर्ने पीडित एक शिक्षकसमेत रहेको खुल्न आएको छ ।