कैलाली । सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज भएको छ । कैलालीको सहजपुरबाट डोटीको बडिकेदारसम्मको ५० किलोमिटर सडक कालोपत्रको काम पूरा भएसँगै सो कार्यालय खारेज भएको हो ।
सङ्घीय सरकारले चालु आर्थिक वर्षमा सो सडक योजना कार्यालय खारेज गरे पनि सडक हस्तान्तरणमा ढिलाइ भएको छ । उक्त सडकलाई डिभिजन कार्यालय डोटी र महेन्द्रनगरमध्ये कुन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गर्ने भन्ने निर्णय नभएको सडक डिभिजन कार्यालय डोटीका प्रमुख रमेश भट्टराईले बताए ।
डोटीको बडिकेदारबाट बोगटानसम्मको २४ किलोमिटर सडक कालोपत्रको ठेक्का प्रक्रिया थालिएका बेला योजना कार्यालय नै खारेज भएपछि अन्योल सृजना भएको छ ।
सङ्घीय सरकारले २४ किलोमिटर सडक कालोपत्र गर्न वातावरणीय प्रभाव मूल्याङ्कनको काम गरेको थियो । तर, योजना कार्यालय नै खारेजीमा परेपछि नयाँ ठेक्का प्रक्रियामा अन्योल भएको भट्टराईको भनाइ छ ।
सङ्घीय सरकार मातहतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले ३६ किलोमिटर सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार पारेको छ । सङ्घीय सरकारको विस्तृत आयोजना प्रतिवेदनमा ३६ किलोमिटर सडक निर्माणका लागि दुई अर्ब ५० करोड बजेट आवश्यक पर्ने देखिएको जनाइएको छ ।
सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक सुधार तथा विकास आयोजना निर्देशनालयले विभागमा बजेट माग गर्दै फाइल पठाएको जनाइएको छ ।
सङ्घीय सरकारले २४ किलोमिटर सडकको ठेक्का सम्झौताका लागि बजेट स्वीकृतिका लागि सडक विभागमा फाइल पठाएको छ ।