काठमाडौं । काठमाडौं महानगरपालिकाले १ चैतदेखि नागरिकता सिफारिस प्रक्रियालाई अनलाइन प्रणालीमा लैजाने भएको छ ।
यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको सहयोगमा सूचना प्रविधि विभागले हालै महानगरका वडा सचिवहरूलाई केन्द्रीय नागरिकता व्यवस्थापन प्रणाली (सीसीआईएमएस)को प्रयोगात्मक अभ्यास गराउँदै युजरनेम र पासवर्ड उपलब्ध गराएको छ ।
महानगरपालिकाको सेवा प्रवाहलाई डिजिटल बनाउन सुशासन समिति र सूचना प्रविधि समितिले अन्तरसम्बन्धित प्रणाली सञ्चालन गर्ने निर्णय अनुसार अनलाइन नागरिकता सिफारिस प्रणाली लागु गर्न लागिएको हो ।
नयाँ प्रणालीअनुसार विवरण प्रविष्ट गर्ने, कागजात प्रमाणित गरी स्क्यान कपी अपलोड गर्ने र विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउने कार्य अनलाइनमार्फत हुनेछ ।