काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्ने विषयमा कर्मचारी प्राधिकरणमा कार्यरत कर्मचारीहरूका संगठनले विरोध जनाएका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल नागरिक उड्डयन प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै प्राधिकरणलाई विभाजन गर्ने विषयमा असहमति जनाएको हो ।
मन्त्री पाण्डेले माघ १९ गते संघीय संसदमा दर्ता गरी फागुन १३ गते प्रतिनिधिसभामा प्रस्तुत गरेको प्राधिकरणको विद्यमान संरचनालाई तहसनहस गरी दुईवटा प्राधिकरण बनाउने प्रक्रियाप्रति संगठनको असहमति र असन्तुष्टि रहेको भन्दै ध्यानाकर्षण गराएको हो ।