काठमाडौँ । फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व रङसँग जोडिन्छ । परापूर्व कालदेखि नै मित्रता, एकता तथा सद्भावस्वरुप खुसी आदानप्रदान गर्दै होली मनाइन्छ ।
साना बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङ्गमा रंगिने गर्दछन् । आफन्त भेट हुने एक अर्कालाई रङ लगाएर मिठो मिठो खाँदै होली पर्व मनाउने प्रचलन हाम्रो समाजमा बढ्दै गएसँगै जो कोहीलाई जथाभाबी रङ दल्ने लोला हान्ने जस्ता केही विकृति प्रवृत्ति पनि भित्रिएको छ भने अर्कोतर्फ स्वास्थ्यका हिसाबले पनि होलीमा खेलिने रङको प्रयोगमा पनि सचेतना अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।
होलीमा प्रयोग गरिने विभिन्न रंगमा रासायनिक वस्तु मिसाइएको हुन्छ । जसले छालालाई त असर गर्छ नै साथसाथै अप्रत्यक्ष रूपमा आन्तरिक स्वास्थ्यमा असर गर्ने चिकित्सकको सुझाब छ ।
चिकित्सकका अनुसार रङ खेल्दा सावधानी नअपनाए आँखाको ज्योति गुम्ने, कानको जाली फुट्ने, छाला सुख्खा हुने, रुघाखोकी लाग्ने, दम बढ्ने जस्ता समस्याहरू देखिन्छन् ।