काठमाडौं । आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका मनाइरहेका बेला देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
हिजो पनि काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङमा २० मिलिमिटर पानी परेको छ ।
मौसमविदहरुका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो ।प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित दिउँसोतिर पानी पर्ने र रातिको समयमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
विगत चार दिनदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा मौसम बदली रहेको थियो । प्रतिकूल मौसमका कारण हवाई उडानसमेत सामान्य प्रभावित भएको छ ।