सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ ।
जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । १५ शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा बढी बिरामी भर्ना गरेर उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ । जसका कारण जनशक्ति व्यवस्थापनमा समेत चुनौती सृजना भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताए ।
उनका अनुसार अस्पतालका सबै बेड भरिएका छन्, जसका कारण सुत्केरी कक्षका बेडसमेत अन्य बिरामीलाई उपचार दिन प्रयोग गरिएका छन् । 'अस्पतालमा भर्ना भएका अधिकतम बिरामी भाइरल सङ्क्रमणकै हुन् । जनशक्ति कम छ, तर बिरामीको चाप अत्यधिक छ । अहिले हामीले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेका छौँ,' शेर्पाले भने ।
अस्पतालमा आउने अधिकांश बिरामी गम्भीर अवस्थाका छन् । डाक्टरहरूका अनुसार ज्वरो, दम, निमोनिया र श्वासप्रश्वास समस्याले ग्रसित बिरामीलाई अक्सिजन नै दिनुपर्ने अवस्था छ । 'अस्पतालका सबै बेड भरिएका छन् । सुत्केरी कक्षका बेडमा समेत अन्य बिरामी राखेर उपचार गराइरहेका छौँ । यदि बिरामीको सङ्ख्या अझै बढे, हामीलाई भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ,' डा रामबाबु जोशीले भने ।
भाइरल सङ्क्रमणबाट प्रभावित हुनेमा सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा रहेका डा जोशीले बताए । स्वास्थ्य कार्यालयका अधिकारीले बालबालिकालाई विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।
साथै स्वास्थ्य समस्याबाट जोगिन पर्याप्त पानी पिउने, भीडभाडबाट टाढा रहने, मास्क लगाउने र व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्ने सुझाव दिएका छन् । फाप्लु अस्पतालमा जनशक्ति तथा आवश्यक औषधिको अभावले थप समस्या निम्त्याएको छ ।
दुर्गम क्षेत्र भएकाले स्वास्थ्यकर्मी सीमित छन्, तर बिरामीको चाप अत्यधिक हुँदा उपचार प्रभावकारी रूपमा दिन कठिन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका डा श्रेया पङ्गेनीका अनुसार भाइरल ज्वरो एकअर्काबाट सजिलै फैलिने भएकाले सावधानी अपनाउनुपर्ने आवश्यकता छ ।