काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।
यो बैठक शुक्रबार अपरान्ह ५ बजे बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा पछिल्लो समय बढिरहेको राजावादी दल र समूहको गतिविधि, संविधान संशोधन तथा सदनमा प्रस्तुत गर्न लागिएका केही विद्येयकहरूबारे छलफल गर्ने तयारी छ ।
राजनीतिक संयन्त्रमा नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी हुनेछन् ।
यस्तै नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । तर परराष्ट्रमन्त्री राणा भने अहिले भारत भ्रमणमा छिन् ।
सरकारले गत पुस १४ गते र २१९ गते जारी गरेका ५ वटा अध्यादेश संसद्बाट पारित भइसकेका छन् । अब तिनलाई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछन् ।