काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले पूर्वउच्च पदस्थ व्यक्तिहरूको थप सुविधा बढाउने कुरा गर्नु उचित नहुने बताएका छन् ।
सरकारले पूर्वविशिष्टलाई कानुन संशोधन गरेर आजीवन सुविधा दिन लागेको विषय बाहिरिएसँगै नेपाली कांग्रेस पाल्पाले तानसेनमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महरले यस्तो बताएका हुन्।
मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा रहेको समयमा सरकारले पूर्वउच्च पदस्थहरूको सेवा सुविधा बढाउने कुरा गर्न देश र जनताको हितमा नहुने उनको भनाइ छ। ‘अर्थतन्त्र अप्ठ्यारोमा छ। यो पूर्वउच्च पदस्थहरूको सेवा बढाउने नभइ पाइरहेको सेवालाई समेत केही कटौति गरेर देश र जनताको पक्षमा काम गर्ने समय हो,’ उनले भने।
राज्यबाट राजनीतिक तवरमा सुविधा खानेहरूको अर्थतन्त्र सुदृढ नहुँदासम्म पाउने पारिश्रमिकसमेत कटौति गर्न आवश्यक रहेको उनले बताएका छन्।