काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसोलिजमले आज यहाँ आयोजना गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा उनले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी बिआरआई अन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
सभामुख घिमिरेले असल मित्र र निकट छिमेकीका रूपमा नेपालले चीनको प्रगतिमा गौरव गर्नुका साथै बृहत् आर्थिक साझेदारीमार्फत चीनको अद्वितीय विकास र समृद्धिबाट लाभ हासिल गर्न चाहेको स्पष्ट पारे ।
‘नेपालको विकास प्रयासमा रहेको चीनको साथ, सहयोग र सहकार्यको हामी उच्च प्रशंसा गर्न चाहन्छौं’, उनले भने, ‘नेपाल सन् २०२६ भित्र अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने परिप्रेक्ष्यमा सहज स्तरोन्नति र सोको दीगोपनाका लागि चीनबाट महत्वपूर्ण सहयोग रहने अपेक्षा गरेका छौँ ।’
नेपाल र चीनको ऐतिहासिक सम्बन्ध आपसी विश्वास, समझदारी र मैत्रीपूर्ण सहकार्यमा आधारित रहेको उल्लेख गर्दै सभामुख घिमिरेले बिआरआईमार्फत दुवै देशबीचको सहकार्य अझै मजबुत हुँदै गएको बताए ।