काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रमा विरोध गर्न पाइने बताएका छन् ।
आफ्नो तस्बिर जलाएको आरोपमा प्रहरीले चितवनबाट आइतबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य-सचिव निराजन बमलाई पक्राउ गरेको सन्दर्भमा उनले यस्तो बताएका हुन् ।
बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको तस्बिर जलाएपछि आइतबार चितवनबाट पक्राउ गरिएको हो ।
‘लोकतन्त्रमा विरोधका विभिन्न रुप हुन्छन्। फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित हुँदैन’, प्रहरीले बमलाई हिरासतमा लिइसकेपछि प्रचण्डले आइतबार साँझ सामाजिक सञ्जालमा भनेका छन् ।