काठमाडौं । यही चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा गराउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै स्ववियु निर्वाचन शान्तिपूर्ण रुपमा गराउन र निर्धारित निर्वाचन आचारसहिंताको पालना गर्न सबै विद्यार्थी सङ्गठनलाई अनुरोध गरेको हो ।
निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू कानुनबमोजिम दण्डनीय हुने भएकाले त्यस्ता कार्य गर्ने गराउनेउपर प्रचलित कानुनबमोजिम कारबाही गर्न गराउन मन्त्रालय प्रतिबद्ध रहेको जनाउदै त्यस्ता आचारसंहिता विपरीत हुने जो कसैका गतिविधि एवम् क्रियाकलापहरू प्रचलित कानुनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायहरुलाई अनुरोध गरेको छ ।
मन्त्रालयले स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएकाप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारबारे ध्यानाकर्षण भएको जनाएको छ ।
