डडेल्धुरा । फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेड डडेल्धुराले औपचारिक रूपमा आफ्नो उत्पादन बजारमा ल्याइएको छ ।सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीको अवधारणामा सञ्चालनमा आएको एग्रोले सुदूरपश्चिमको गुणस्तरिय भटमासबाट उत्पादित ‘रमसिला तेल’ र ‘रमसिला सोयाबिन’ बजारमा ल्याएको छ ।
२०७६ सालमा दर्ता भएको यो कम्पनी ७७७ जना शेयर सदस्य र १,००० भन्दा बढी भटमास उत्पादक कृषकहरूको सहकार्यमा सञ्चालन गरिएको एग्रोले उत्पादन गरेको तेल र सोयाबिन शनिबार औपचारिक रूपमा बजारमा ल्याइएको हो । कम्पनीको पाँचौं वार्षिक साधारण सभाको अवसर पारेर आफ्ना उत्पादन तथा बजारीकरण सुरु गरिएको कम्पनी सञ्चालक समितिका अध्यक्ष धर्मसिंह ऐरले जानकारी दिए ।
उनले ‘रमसिला तेल’ उच्च गुणस्तरयुक्त तथा स्वास्थ्यका लागि लाभदायक रहेको समेत जानकारी दिए । यो उद्योग सुदूरपश्चिम प्रदेशका नागरिकहरूको मुख्य लगानीमा स्थापित पहिलो खाने तेल उत्पादक कम्पनीको रुपमा दाबी गरिएको छ। स्थानीय स्रोत तथा कच्चा पदार्थको अधिकतम उपयोग गर्दै उत्पादन बजारमा ल्याउने लक्ष्य राखिएको छ ।
फार वेस्टर्न एग्रो जाइन्ट लिमिटेडका संस्थापक अध्यक्ष तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य डा.जोशीले लामो समयको मेहनेत पछि तेलसँगै सोयाबिन उत्पादन तथा बिक्री पनि सुरु गरिएको जानकारी दिए । छिट्टै डडेल्धुरासहित सुदूरपश्चिमका विभिन्न बजारमा तेल उपलब्ध गराउने योजना कम्पनीले बनाएको छ । यस उत्पादनले स्थानीय किसानलाई प्रत्यक्ष रूपमा आर्थिक लाभ पु¥याउने अपेक्षा गरिएको छ ।