काठमाडौं । नेपालमा व्यावसायिक रुपमा बिक्री हुने बोतल तथा जारको पानीमा माइक्रोप्लास्टिकको मात्रा उच्च देखिएको पाईएको छ । मानव स्वास्थ्य र वातावरणमा यसले गम्भीर असर पार्ने विज्ञहरुले बताउँछन् ।
काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विकास अधिकारी, ई. युवराज दाहाल, ई. करुणा गौतम र ई. रशिका पण्डितले गरेको यो अध्ययनको रिपोर्ट प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नल स्प्रिन्गर नेचरमा प्रकाशित छ ।
अध्ययनका लागि नेपालमा बिक्री हुने ११ ब्रान्डका ५६ वटा नमूना संकलन गरिएको थियो। अध्ययनमा एक लिटर पानीको बोतलमा औसत २३२ + २८ र जारको पानीमा औसत २८६ + ४२ माइक्रोप्लास्टिक्स फेला परेका छन्। सबै नमूनामा माइक्रोप्लास्टिक्सको उपस्थिति देखिएको पाईएको छ ।
नेपालका भौगोलिक क्षेत्रअनुसार माइक्रोप्लास्टिक्सको मात्रा प्रतिलिटर फरक–फरक पाइएको छ । तराई क्षेत्रको नमूनामा सबैभन्दा उच्च औसत २६१ + २८ देखिएको छ । हिमाली क्षेत्रमा औसत २०९ + २० र पहाडी क्षेत्रमा औसत १९६ + २९ पाइएको हो ।तराई क्षेत्रमा उच्च प्रदूषणको कारण उच्च तापक्रम र प्लास्टिकका बोतलहरूमा देखिने भौतिक तथा रासायनिक प्रभाव हुनसक्छ।नयाँ जारको पानीमा औसत ३२१ + ५३ प्रतिलिटर माइक्रोप्लास्टिक्स पाइएको छ भने पुनः प्रयोग गरिएका जारमा औसत २५१ + २७ प्रतिलिटर भेटिएको छ ।
यी नमूनाहरू नेपालका सातै प्रदेशका विभिन्न जिल्लाबाट संकलन गरिएको थियो। विशेष गरी हिमाल, पहाड र तराईका जिल्ला समेटिने गरी रसुवा, काठमाडौं, चितवन, कास्की, दाङ, सुर्खेत, झापा, पर्सा, कैलाली लगायतका जिल्लाहरूबाट नमूना संकलन गरिएको थियो।