काठमाडौँ । आज बसेको राष्ट्रियसभा बैठकमा सांसदहरुले गत साउनमा भएको सौर्य एयरलाइन्स दुर्घटनाबारे छानबिनको माग गरेका छन्।बैठकको शून्य समयमा सांसद धनश्याम रिजालले गत साउनमा भएको सौर्य एयरसलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिनको माग गरे।
सांसद रेणु चन्दले पनि सौर्य एयरलाइन्सको दुर्घटना सम्बन्धमा सत्यतथ्य छानबिन गर्न ढिलाइ गर्न नहुनेमा जोड दिइन्।सांसद कृष्णबहादुर रोकायले शिक्षक आन्दोलनरत रहेको भन्दै उनीहरुसँग वार्ता गरेर माग पूरा गर्नुपर्नेमा जोड दिए।
सांसद रुक्मिणी कोइरालाले यौन व्यवसायलाई कानुनी मान्यता दिने धारणा गलत भाष्य स्थापित गर्न खोजेको भन्दै आपत्ति जनाइन्।सांसद विष्णुकुमारी सापकोटाले पूर्वविशष्टहरुलाई आजीवन सेवा सुविधा उपलब्ध गराउन नहुने धारणा राखिन्।
सांसद विष्णुदेवी पुडासैनीले भने भत्काइएका सडकको समयमै निर्माण गर्नुपर्नेमा जोड दिइन्।शून्य समयमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले बालबन्दी गृहमा लागुऔषध भित्रिएको भन्दै सत्यतथ्य छानबिनको माग गरे।बैठकमा सांसदहरु श्रीकृष्णप्रसाद अधिकारी र पदमबहादुर परियारले पनि विभिन्न विषयमा आफ्नो धारणा राखे।