काठमाडौं । नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापा नियुक्त भएका छन् ।आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चर तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी आज रातिबाट अवकाश हुँदैछन् । केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)प्रमुखका रुपमा कार्यरत नवनियुक्त प्रहरी महानिरीक्षक थापाले भोलि चैत ५ बाट कार्यभार सम्हाल्दैछन् ।
२०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी जीवन शुरु गरेका थापा भक्तपुर जिल्लाका बासिन्दा हुन् । थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।
डीएसपी र एसपी दर्जामा उनले जिल्ला प्रहरी कार्यालय रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको प्रहरी प्रमुखका रुपमा जिम्मेवारी बहन गरिसकेका छन् । बागमती प्रदेश प्रहरी, उपत्यका प्रहरी कार्यालयको जिम्मवारी सम्हालिसकेका उनले प्रहरी वृत्त महाराजगञ्ज काठमाडौंको कार्यालय प्रमुखको अनुभवसमेत हासिल गरेका छन् ।