काठमाडौँ । आजदेखि अवकाशमा जान लागेका प्रहरी महानिरीक्षक(आईजीपी) बसन्तबहादुर कुँवरको गृह मन्त्रालयले बिदाइ गरेको छ । गृहमन्त्री रमेश लेखकले सोमबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा कुँवरलाई शुभकामनासहित बिदाइ गरेका हुन् । कार्यक्रममा मन्त्री लेखकले प्रहरी महानिरीक्षक कुँवरलाई मायाको चिनोसमेत प्रदान गरे।
गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक कुँवरलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यावसायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गरेका छन्। कुँवरले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक, व्यावसायिक एवं इमानदारीपूर्वक सम्पन्न गरेको चर्चा गर्दै उनले आगामी दिनमा पनि आवश्यकताअनुरूप राष्ट्रको लागि थप काम गर्ने अवसर प्राप्तिको शुभकामनासमेत व्यक्त गरे।
कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीले मुलुकको शान्ति, सुरक्षाको सुनिश्चितता गर्ने प्रहरी संगठनको प्रमुखको महत्त्वपूर्ण र गरिमामय पदमा कार्यरत भएर मुलुकका लागि पुर्याएको योगदान अतुलनीय रहेको बताउँदै सेवा निवृत्तपछि अझ बढी प्रगतिको लागि शुभकामना दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षक पदसम्मको लामो यात्रा सम्पन्न गरी आज बिदाइ हुँदै गरेको क्षणलाई सम्मान र गौरवको रूपमा लिएको बताए। यता सरकारले नेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजीपी) मा दीपक थापालाई नियुक्त गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई आईजीपी नियुक्त गर्ने निर्णय हो ।